आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

बाढी पहिरो : 'सतर्कतामा ध्यान दिनुपर्छ'

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७७ आषाढ  २५

 

असारको दोस्रो हप्तादेखि भदौ पहिलो हप्तासम्म नेपालमा ठूला बाढी, पहिरो तथा डुबानका घटना दोहोरिने गर्छन् । यो अवधिमा जनधनमा व्यापक क्षति पुग्ने गरेको छ । यो वर्ष आज बिहीबारदेखि देशका विभिन्न ठूला नदीमा हुने उच्च प्रवाहले सतर्कता तह पारको पूर्व सूचना दिइएको छ । यो हप्ता मनसुन अति सक्रिय हुने भएकाले नदी, खोला र खहरेमा बाढी आउनसक्ने हुँदा जनधनको क्षति कम गर्न सतर्क रहनुपर्ने देखिएको छ ।

जल तथा मौसमविज्ञान विभागले असार २५ गतेदेखि देशैभरका नदीमा जलप्रवाह बढ्ने पूर्वानुमान गरी सुरक्षात्मक विधि अपनाउन नागरिकमा आग्रह गरेको छ । विभागका अनुसार २७ देखि २९ गतेसम्म नारायणी, कन्काई, कोशी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीको प्रवाहले सतर्कता तह पार गर्दै जनधनको क्षति गर्ने सम्भावना देखाइएको छ ।
पहाडमा पहिरो जाने र चुरेक्षेत्र एवं तराईका सबै नदीको प्रवाहले सतर्कता तह पार गर्ने भएकाले पूर्वतयारी र होसियारी अपनाउन ढिलो गर्नुहुँदैन । मुलुकमा कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएकाले यस्तो अवस्थामा थपिने नयाँ समस्याले जनतालाई थप प्रताडित गर्ने भएकाले बाढीपहिरो र डुबानप्रति व्यक्ति व्यक्ति सतर्क रही सुरक्षित रहनुपर्छ । यस्तो सतर्कतामा सरकारी निकायका साथै सम्बन्धित क्षेत्रका समुदायले पनि ध्यान दिनुपर्छ । बर्सेनि हुने डुबान तथा कटानको समस्या समाधानमा सरकारले भूक्षय÷नदी नियन्त्रणजस्ता विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।


ADVERTISEMENT

images

प्राकृतिक घटनाका कारण हुने वर्षा र डुबानको समस्या अन्त्य गर्न सम्भव हुँदैन तर कतिपय यस्ता घटना मानिसकै कारण पनि थपिएका हुन्छन् । तराईका कतिपय सीमाक्षेत्रमा भारतद्वारा बनाइएका अग्ला सडक, बाँध तथा तटबन्धले नेपालको भूभाग डुब्ने गरेका छन् । काठमाडौँजस्तो सुरक्षित स्थानमा पनि नदी किनारा अतिक्रमण गर्ने, निकास बन्द गर्ने, नदीको धार परिवर्तन गर्ने, जग्गाको स्वरूप बिगार्नेजस्ता कारणले पहिरो तथा डुबान हुने गरेको छ । यसर्थ बस्ती र कृषिक्षेत्रमा भिन्नता नगरी बसाइएका बस्तीले ल्याउने जोखिम कम गर्न मानवीय प्रयास पर्याप्त हुन्छ ।

नदीमा आउने स्वाभाविक उच्च प्रवाह र अव्यवस्थित बस्तीका कारण खोलाखोल्साको उचित निकास नभई हुने डुबानका सम्बन्धमा भिन्न दृष्टिकोण र मापदण्डबाट उपचार खोज्न आवश्यक हुन्छ । बर्सेनि राजधानीमा टुकुचाजस्तो सानो खोलो (खोल्सो) ले घर, पसल डुबाउने गरेका घटना र ठूला नदीमा आउने उच्च प्रवाहले गर्ने डुबानका परिणाम समान भए पनि कारण एउटै हुनसक्दैन ।
पछिल्ला वर्ष सरकारले मौसम, बाढी र पहिरोको पूर्वानुमानमा विशेष ध्यान दिएको छ । यसबाट कृषि, व्यवसाय र जनजीवन सुरक्षित गर्न धेरै हदसम्म सम्भव हुनेछ । विगतमा आकाश हेरेर गरिने मौसम पूर्वानुमानको तुलनामा आजका अनुमान तथ्यको नजिक पुगेका देखिन्छन् । नेपालमा पहिरो र बाढीको असली पूर्वानुमान गर्न सकिए यसबाट हुने क्षतिको व्यापक न्यूनीकरण गर्नसकिने भएकाले यस सन्दर्भमा पर्याप्त लगानी तथा जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

बाढी तथा डुबानका सन्दर्भमा पहिला त प्रकृतिमैत्री विकास आवश्यक हुन्छ भने प्राविधिक सुरक्षण विधा तथा संरचनाको विकास र वैज्ञानिक पूर्वानुमानलाई सँगै लैजानुपर्छ । यसअघि नै बाढीको पूर्वानुमान र खतराको तह तोक्ने कार्य गरिँदै आएकोमा जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासको पहल भएको छ । बाढी पूर्वसूचना प्रणाली विगतदेखि प्रचलित रहे पनि पहिरोको पूर्वानुमान नहुँदा जनधनको ठूलो क्षति हुने गरेको अवस्थामा यस्तो प्रणालीको प्रभावकारी कार्यान्वयनले अवस्थामा सुधार गर्न सकिनेछ ।
जल तथा मौसमविज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागको सहकार्यमा असरमा आधारित पहिरो पूर्वसूचना प्रणाली कार्यान्वयनमा आएकाले यसको आगामी विकासमा नेपालले फड्को मार्न सक्नुपर्छ । नेपालका लागि नयाँ अभ्यास तथा जटिल कार्य भए पनि विश्व अनुभवले पहिरोको पूर्वानुमानलाई सम्भव देखाइसकेकाले यस क्षेत्रमा नेपालले परिणाममुखी काम गर्नसक्छ ।

यस्तो प्रणालीको विकास स्वागतयोग्य र औचित्यपूर्ण हुँदाहुँदै पनि साधनस्रोतको अभावमा प्रणालीलाई अपेक्षाकृतरूपमा मुलुकभर कार्यान्वयन, जनताको सहभागिता, सूचनाको परिपालनालाई पनि एकीकृत गर्र्नुपर्ने देखिन्छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया