सर्लाही, बैशाख । दलका कार्यकर्ताबीच पटक पटक झडप हुनथालेपछि रोकिएको सर्लाहीको धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा पुनः मतदान भएको छ । मतदान गराउन नेपाली सेनालाई अघि सारिएको जनाइएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौल गाउँपालिका–२ पशु सेवा केन्द्र मतदान स्थलमा नेपाली सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट पुनः मतदान गराइएको जानकारी दिए ।
झण्डै ७ घण्टा अवरुद्ध बनेको मतदान साँझ ५ बजेसम्म चल्ने उनले बताए । त्यहाँ मतदान सुरु भएको केही छिनमै त्रिपक्षीय झडप भएको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप हुन थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । मतदान स्थलमै झडप हुन थालेपछि प्रहरीले दर्जन भन्दा बढी हवाई फायर खोलेको थियो ।
स्थिति साम्य नभएपछि केही बेरका लागि मतदान अधिकृत सहित मतपेटिका गाउँपालिकास्थित निर्वाचन कार्यालयमा ल्याइएको थियो । त्यसपछि सो मतदान केन्द्रमा नेपाली सेनालाई अघि सारेर निर्वाचन गर्ने रणनीति अनुरुप अहिले पुनस् मतदान सुरु भएको हो । सेना मतदान स्थलमा आएपछि मतदान स्थल शान्त बनेको छ ।
धनकौल गाउँपालिकाको निर्वाचन अधिकृत शिवदत्त बरालले निर्वाचन सफल बनाउनका लागि नेपाली सेनालाई मतदान स्थलमा खटाइएको जानकारी दिए । उनले अन्तिम प्रयास स्वरुप सेनाको सहयोग लिएर मतदान भइरहेको बताए ।
‘झडपले उग्ररुप लिएपछि हवाई फायर गर्दै सर्वदलीय छलफल समेत गर्यौं, तर पनि समस्या समाधान भएन,’ उनले भने, ‘केही बेरका लागि हामी ब्याक भयौं, अब नेपाली सेनालाई मतदान स्थलको जिम्मा दिएर फेरि मतदान सुरु भएको छ ।’