images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

युक्रेन युद्ध : 'पुटिनले अब फरक खालको विफलता सामना गर्नुपर्नेछ'

युक्रेन युद्ध : 'पुटिनले अब फरक खालको विफलता सामना गर्नुपर्नेछ'

सोमवार, बैशाख २६ २०७९

  • 341
    SHARES

  • युक्रेन युद्ध  : 'पुटिनले अब फरक खालको विफलता सामना गर्नुपर्नेछ'
     

    रुसको विजय दिवसको परेडले जेसुकैको प्रतिनिधित्व गर्ने भए पनि कुनै पनि किसिमबाट त्यो युक्रेनमाथिको विजय नहुने रक्षा विश्लेषक माइकल क्लार्कको दृष्टिकोण छ।

     

    images

    उनको दृष्टिकोण तलको आलेखमा:

    राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनले घुमाउरो रूपमा जतिसुकै प्रयास गरे पनि यो युद्धमा रुस कुनै पनि तरिकाबाट विजयी हुने छैन। सन् २००८ पछि पुटिनले विशेष प्राथमिकताप्राप्त सैन्य बल, भाडाका सैनिक, स्थानीय मिलिसिया समूह र सँगसँगै रुसी हवाई फौजको प्रयोगबाट विश्वभर वैदेशिक सैन्य सफलता हासिल गरेका हुन्।

    त्यसले मस्कोलाई जोर्जिया, नगोर्नो काराबाख, सिरिया, लिबिया, माली, र सन् २०१४ यता युक्रेनमा दुई पटक हस्तक्षेप गर्दा कम खर्चमा उद्देश्य पूर्तिका लागि महत्त्वपूर्ण शक्ति प्रदान गर्‍यो। सन् २०१४ मा रुसले पहिला गैर कानुनी रूपमा क्राइमिया गाभेर र त्यसपछि लुहान्स्क र डोनेत्स्क क्षेत्रमा टुक्रिएका स्वघोषित राज्य बनायो।

    यी सबै हस्तक्षेप गर्दा रुस तीव्र र निर्दयी रूपमा अघि बढ्दै गयो र पश्चिमा देशले रुसविरुद्ध प्रतिबन्ध लगाउनुबाहेक वास्तविकता उल्ट्याउन अरू केही गर्न सकेनन्। पुटिन भने "मैदानमा नयाँ तथ्य सिर्जना गर्न" सिपालु रहे।

    फेब्रुअरीमा उनले युक्रेनमा सम्भव भएसम्म ठूलो स्तरमा त्यही प्रयास गरे। ४ करोड ५० लाख जनसङ्ख्या रहेको र युरोपमै दोस्रो ठूलो भूभाग रहेको देशको सत्ता ७२ घण्टाभित्र हातमा लिने उनले प्रयास गरे।

    यो आश्चर्यजनक र लापरबाहीपूर्ण खेल थियो र त्यो पहिलो र महत्त्वपूर्ण साता नै पूर्ण रूपमा विफल भयो।

    पुटिनसँग यो युद्धलाई ठूलो बनाउने सीमित विकल्प छन्, युक्रेनभित्रै ठूलो बनाउने वा उसको सीमाभन्दा बाहिर गएर ठूलो बनाउने।अहिलेको अवस्थामा हमलालाई तीव्र बनाइएको छ र युरोप हालैको समयमा सबैभन्दा खतरनाक क्षणमा पुगेको छ।

    किएभ सरकारलाई आफ्नो नियन्त्रणमा लिने योजना राष्ट्रपति जेलेन्स्की वा बाहिरी विश्वले प्रतिक्रिया जनाउनुअघि नै विफल भएपछि मस्को अर्को योजनामा पुग्यो।

    किएभलाई घेरामा पार्ने र अन्य युक्रेनी सहरहरू चेर्निहिब, सुमी, खार्किभ, डोनेत्स्क, मारिऊपोल र माइकोलेइभहरूमा सर्ने अनि युक्रेनी सशस्त्र प्रतिरक्षाको अन्त्य गर्ने रुसको यो सैन्य "चतुर्‍याइँ" थियो।त्यसो गरिरहँदा किएभ आफैँमा विनाश र समर्पणले तर्सिने रुसको योजना थियो।

    तर यो पनि विफल भयो। खेअरसनमात्रै एउटा ठूलो सहर हो जुन रुसी नियन्त्रणमा गयो र त्यसयता खेअरसनले रुसी प्रशासनको निरन्तर रूपमा विरोध गर्दै आएको छ।

    तथ्य के हो भने रुसी फौजहरू त्यति ठूलो देशलाई दबाउनका लागि एकदमै सानो सङ्ख्यामा छन् र उनीहरूले धेरै कारणले एकदमै कमजोर तरिकाले प्रदर्शन गरे।

    किएभदेखि माइकोलेइभसम्म चारैतर्फ रुसी फौज कमजोर नेतृत्वमा परिचालित भए, त्यहाँ कतै पनि कमाण्डर थिएनन्।

    भ्लादिमिर पुटिन

    तस्बिर :  GETTY IMAGES

    र, उनीहरूले राम्ररी तालिमप्राप्त र प्रतिबद्ध युक्रेनी सेनाविरुद्ध लड्नुपर्‍यो जसले "गतिशील प्रतिरक्षा" को एउटा उत्कृष्ट प्रदर्शनमा रुसी सेनालाई रोके। अधिकतम जोखिमको विन्दुमा उनीहरूलाई युक्रेनी सेनाले रोकेका मात्रै होइनन् हमलाकारीलाई प्रहार नै गरे।

    निराश रुसीहरू अर्को योजनामा अगाडि बढे। त्यो योजना भनेको किएभ र उत्तरी क्षेत्र छोडेर डोनबास क्षेत्र र पूरै दक्षिणी भेगमा ठूलो आक्रमण गर्न आफ्ना सबै फौजहरूलाई केन्द्रित गर्ने थियो। त्यतातर्फ दक्षिण पश्चिममा रहेको ओडिसाको बन्दरगाहसम्म आक्रमण गरेर देशलाई समुन्द्री सम्पर्कबाट च्यूत गराएर भूपरिवेष्टित बनाइदिने योजना रहेको थियो।

    अहिले पूर्वमा रहेका क्षेत्र वरपर पनि यो खेल खेलिएको हामी देख्न सक्छौँ। रुसी फौजहरू युक्रेनको जोइन्ट फोर्सेस अपरेशन (जेएफओ) लाई घेर्ने प्रयास गरिरहेका छन्।

    रुसको मुख्य उद्देश्यमा श्लोभ्याङ्क्स र अझै दक्षिणमा पर्ने क्रामातोर्स्क आफ्नो नियन्त्रणमा लिने रहेको छ। पूरै डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि यी दुवै विन्दुहरू रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेका छन्।

    र युद्ध फरक सैन्य चरणमा प्रवेश गरेको छ। खुलापन भएको देशमा, राम्रो मौसम भएका बेला, ट्याङ्क र यन्त्र सज्जित सेना र त्यो भन्दा पनि थप कुरा विपक्षी फौजको रक्षा रेखालाई ध्वस्त पार्ने गरी डिजाइन गरिएको हतियारसँग जुझ्नु छ।

    तर प्रक्रिया त्यति साधारण छैन। रुसको आक्रमण सुरुवातमै नराम्रो स्थितिमा पुग्यो।

    युक्रेनको राम्रो बचाउ रणनीतिले रुसीहरूलाई रक्षात्मक स्थितिमा पुर्‍याइदियो। युक्रेनीहरूले त्यस अवधिमा आफ्ना लागि मूल्यवान् समय प्राप्त गर्न सफल भए।

    दुवै पक्षले पूर्ण रूपमा भारी युद्ध गर्नुअघिको सघन तयारी गरिरहेका छन्। आउँदा केही हप्तामा हामी त्यसैतर्फ परिस्थिति विकास भइरहेको पाउने अपेक्षा राख्न सक्छौँ।

    डोनबास क्षेत्रमा के हुन्छ भन्ने विषयले पुटिनलाई कस्तो हार चयन गर्ने भन्ने निश्चित गराउनेछ। यदि सैन्य गतिविधिमा परिवर्तन भयो र उनको फौज पछाडि धकेलियो भने त झन् त्यस्तै स्थिति हुनेछ।

    र, यदि डोनबास क्षेत्र र दक्षिणी युक्रेन आफ्नो नियन्त्रणमा रुसी फौजले राख्न सक्यो भने अनिश्चित भविष्यसम्म यी क्षेत्र आफ्नो नियन्त्रणमा राख्नुपर्नेछ जहाँ उनीहरूले दशौँ लाख युक्रेनीहरूको सामना गर्नुपर्नेछ जसले रुसीहरू आफ्नो क्षेत्रमा आएको हेर्न चाहन्नन्।

    कुनै पनि महत्त्वपूर्ण रुसी सैन्य सफलताले खुला किसिमको विद्रोह पैदा गर्ने सम्भावना छ। र जहाँ जहाँ रुसी फौज पुग्लान् त्यहाँ त्यहाँ झन् ठूलो विद्रोहको सामना गर्नुपर्ने हुन सक्छ।

    फेब्रुअरीको 'प्लान ए'मा पुटिन विफल भए। प्लान बी र सी वा त्यसपछिका योजना पनि विफल हुन सक्छन्। त्यसले एउटा ठूलो देशको केही वा सबै दबाउनुपर्ने हुनसक्छ।

    कुनै न कुनै हिसाबले रुसले युक्रेनमा युद्ध लडिरहनुपर्ने हुन सक्छ। त्यो युक्रेनको सर्वसाधारण या युक्रेनी फौजसँग वा दुवैसँग लड्नुपर्ने पनि हुन सक्छ।

    कुनै पनि सहुलियत दिनुअघि रुसी फौज फिर्ता हुनुपर्ने अहिलेको अडान किएभले राखेसम्म पुटिनले लडाइँ गरिरहनुबाहेक अरू गर्ने कुरा पनि छैन।

    पश्चिमा शक्तिहरूले हतियार र रकम किएभलाई उपलब्ध गराइरहनेछन् र तत्काल रुसमाथि लगाइएको शक्तिशाली नाकाबन्दी हटाउनेवाला पनि देखिँदैनन्।

    एक पटक युरोपको रुसमाथि ऊर्जा निर्भरता कम हुने बित्तिकै रुसले युरोपलाई दिन सक्ने निकै कम बस्तु मात्र छन्।

    अमेरिका र युरोपले रुसमाथि नाकाबन्दी लगाइरहन सक्छन् र त्यसले उनीहरूको अर्थतन्त्रमा तात्त्विक असर पनि पर्नेछैन।

    विस्फोट नगरिएका रुसी हतियार

    तस्बिर :  GETTY IMAGES

    व्यक्तिगत रूपमा भ्लादिमिर पुटिनका लागि फर्कने मार्ग छैन र उनी युद्ध अपराधी साबित गरिन सक्छन्। उनको एक मात्र राजनीतिक रणनीति भनेको युक्रेनको युद्धलाई "नाजीहरू" विरुद्ध वा पश्चिमा "साम्राज्यवादी" विरुद्धको सङ्घर्षका रूपमा अर्थ्याउने रहेको देखिन्छ।

    त्यसैले उनी रुसले बाँकी युरोपसँग "महान देशभक्ति युद्ध २.०" गरिरहेको छ भन्ने खतरनाक विचारसँग खेलिरहेका छन्। हामी शायद रुसमा विजय दिवस मनाइने दिन अर्थात् मे ९ का दिन यस्ता कुरा थुप्रै सुन्ने छौँ।

    त्यसदिन राष्ट्रपति पुटिनले अँध्यारो र लामो सुरुङभित्र प्रकाश देखेको दाबी गर्नेछन् जसतर्फ उनी स्वयंले आफ्नो देशलाई लगिरहेका छन्।

    (माइकल क्लार्क किङ्ग्स कलेज लण्डनमा रक्षा अध्ययनका भिजिटिङ प्रोफेसर हुन्)

    सोमवार, बैशाख २६ २०७९०८:५९:५१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार