वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा यो पटक केही रोचक तालमेलका दृश्यहरू देखिएका छन्। केन्द्रीय राजनीतिमा एकअर्काका कटु आलोचक र प्रतिस्पर्धी शक्ति ठानिने दलहरूले केही स्थानीय तहमा तालमेल गरेका छन्।
शीर्ष नेताहरूले एक अर्काप्रति चर्को आलोचना गरिरहँदा अछामको एक स्थानीय तहमा भने नेकपा एमाले र एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीबीच नै तालमेल भएको छ।
सङ्घीय संसद्सहित प्रदेशसभामा समेत सत्तापक्ष र विपक्षी कित्तामा बाँडिएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले पनि स्थानीय तहमा तालमेल गरेका छन्।
यसअघि एउटै पार्टी भए पनि पुनः अलगअलग भएका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले एक अर्काको खरो आलोचना गरिरहँदा केही स्थानीय तहमा एमाले र माओवादीका स्थानीय नेताहरूले चुनावी तालमेल गरेका छन्।
गुल्मीको धुरकोट र प्यूठानको झिमरुक गाउँपालिका तथा अछामको साँफेबगर नगरपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ।
सरकारमा सहभागी पाँच दलले गठबन्धनइतरका पार्टीहरूसँग तालमेल नगर्ने घोषणा गरे पनि स्थानीय तहका पार्टी समितिहरूले केन्द्रको सहमति मानेका छैनन्।
एमाले नेता भीम रावलको गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा एमाले र समाजवादीले गठबन्धन गरेका छन्। यो पालिकाको अध्यक्षमा समाजवादीले एमालेलाई र उपाध्यक्षमा एमालेले समाजवादीलाई सहयोग गरेका छन्।
तर वडा तहमा भने तालमेल नभएको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवरले बताए। "जिल्लाले निर्णय गरेर घोषित होइन, पालिकाले आफैँआफैँ गरेका हुन्," कुँवरले भने।
तस्बिर : RSS
"हाम्रो निर्णय गठबन्धनभित्रै रहेर तालमेल गर्ने भन्ने हो अब कांग्रेसले र माओवादीले हामीलाई 'साइज'मा राख्न खोजे त्यसैको परिणाम हो।"
माओवादी र कांग्रेसले समाजवादीलाई बेवास्ता गरेका कारण आफ्नो दलले विद्रोह गरेको कुँवरले बताए।
नेकपा एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाल एमालेले गठबन्धनको नीति नलिए पनि स्थानीय आवश्यकताको आधारमा तालमेल गर्न पार्टीका जिल्ला समितिहरूलाई तालमेलको अधिकार दिएको बताए।
"प्रायः हामी एक्लै लडेका छौँ, गठबन्धन गरेका छैनौँ। स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न खुला छोडेका छौँ, निषेध गरिएको छैन," उनले भने।
माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पाको थवाङमा कांग्रेस-एमाले मिलेर माओवादी केन्द्रविरुद्ध गठबन्धन गरेका छन्।
थवाङमा कांग्रेस र एमाले दुवैले आफ्ना उम्मेदवारलाई फिर्ता गराएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपासमर्थित स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको नेताहरूले बताए।
"माओवादी एक्लै नै छ। कांग्रेसम एमाले, नेकपा र मङ्गोल अर्गनाइजेशन पार्टी पालिकादेखि वडासम्मै मिलेका छन्," थवाङ गाउँपालिकामा यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएका वीरबहादुर घर्ती मगरले टेलिफोनमा भने।
विप्लवनेतृत्वको नेकपाका नेता सन्तोष बुढामगरले आफ्नो दलबाट आधिकारिक उम्मेदवार नभएको बताए। "स्वतन्त्र उम्मेदवारलाई कांग्रेस एमालेले सहयोग गरेका छन् र माओवादी केन्द्र अर्कोतिर छ," उनले भने।
तस्बिर : RSS
नेकपाले घोषित रूपमा निर्वाचनमा भाग नलिए पनि कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवार अघि सारेको नेताहरूले बताएका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अपवादको रूपमा केही स्थानीय तहमा गठबन्धनबाहिर तालमेल भएको प्रतिक्रिया दिए।
"कतिपय ठाउँमा हामीसँग समझदारी भएअनुसार माओवादीले सहमति पालना नगरेका कुराहरू पनि छन्, केही अपवादको स्थिति देखिएको छ अब यसलाई चुनावअघि नै केही गर्न सकिन्छ कि भनेर कुराकानी हुँदै छ," उनले भने।
केन्द्रीय नेताहरूबीच आरोप प्रत्यारोप चलिरहे पनि एमाले र माओवादी केन्द्रबीच धेरै स्थानीय तहमा चुनावी तालमेल छ।
एमाले माओवादीबीच गुल्मीको धुरकोट, प्यूठानको झिमरुक र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका साथै अछामको साँफेबगर नगरपालिकामा तालमेल भएको छ।
कतै माओवादीले एमालेलाई प्रमुखमा सहयोग गरेर उपप्रमुख आफ्नो दलबाट उठाएको छ भने कतै एमालेले माओवादीलाई प्रमुखमा समर्थन गरेर उपप्रमुखको भाग लिएको छ।
माओवादीबाट धुरकोट गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका भूपाल पोखरेलले आफ्नो दलले यसअघि जितेको गाउँपालिका प्रमुखमा कांग्रेसले उम्मेदवार उठाएपछि बाध्य भएर एमालेसँग गठबन्धन गर्नुपरेको बताए।
"हाम्रो तालमेल उम्मेदवारी दर्तापछि भएको हो। अघिल्लो पटक मैले जितेको हो। यो पटक कांग्रेसले नछोडेपछि एमाले र माओवादीले एकअर्काका उम्मेदवारलाई अध्यक्ष र उपाध्यक्षमा सघाउनेगरी तालमेल गरेका हौँ," उनले भने।
तस्बिर : RSS
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको विपक्षी गठबन्धनसँग तालमेल गरेको छ।
दमक नगरपालिकामा कांग्रेस र माओवादीले राप्रपाका उम्मेदवारलाई मेयरमा समर्थन गरेका छन् भने राप्रपाले कांग्रेसलाई उपमेयर छोडेको छ।
तर उक्त दलले चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र नवलपरासीको गैँडाकोट नगरपालिकामा कांग्रेस र माओवादीका उम्मेदवारविरुद्ध एमालेसँग तालमेल गरेको छ।
राप्रपाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कांग्रेससँग पनि तालमेल गरेको छ। यो नगरपालिकामा सत्ताधारी गठबन्धनका कांग्रेस र एकीकृत समाजवादीबीच नै नगरप्रमुखमा प्रतिस्पर्धा छ।
"स्थानीय आवश्यकताअनुसार तालमेल हुन्छ भन्ने हाम्रो दलको नीति थियो। त्यसैअनुसार ठाउँअनुसार तालमेल भएको छ," राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने।
यसरी फरकफरक दलसँग तालमेल गर्दा नैतिकताको प्रश्न उठ्दैन भन्ने प्रश्नमा उनले भने, "एकअर्काविरुद्ध परिचालित भएका कांग्रेस र एमाले त मिलेर झापाको कचनकवलमा राप्रपाको उम्मेदवारविरुद्ध उठेका छन्। हामीले बरु नगण्य स्थानमा तालमेल गरेका छौँ।"
तस्बिर : RSS
बीबीसी संवाददाता उमाकान्त खनालका अनुसार झापाको कचलकवल गाउँपालिकामा भने राजतन्त्रको वकालत गर्दै आएको राप्रपाविरुद्ध गणतन्त्रवादी दलहरूले तालमेल गरेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने यो स्थानीय तहमा राप्रपाविरुद्ध एमालेसहित सत्ता गठबन्धनका दलहरूले राप्रपा विरुद्ध गठबन्धन गरेका हुन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष र र उपाध्यक्ष दुवै राप्रपाले जितेको यो स्थानीय तहमा एमालेले अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ भने कांग्रेसले उपाध्यक्षमा एमालेलाई समर्थन गरेको छ।
यो पनि हेर्नुहोस्
बदर नहुने गरी कसरी मतदान गर्ने ?
बीबीसीबाट