धनुषा, माघ । धनुषाको धनुषाधाम नगरपालिकामा रहेको प्रसिद्ध धनुषाधाममा आइतबारदेखि एक महिने मकर मेला सुरु भएको छ । माघ महिनाको प्रत्येक हप्ताको आइतबार धनुषाधाममा मकर मेला लाग्ने गरेको छ । मकर मेलामा सहभागी हुनका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली तथा सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरू आउने गरेका छन् ।
प्रसिद्ध धनुषाधाममा त्रेता युगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्नका लागि भगवान् रामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषधाममा खसेको धार्मिक मान्यता छ ।
भगवान् शिवको पवित्र पिनाक धनुष भएका कारणले सो ठाउँमा मकर अवधिभर ठूलो धार्मिक मेला लाग्ने गरेको छ । खास गरेर धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पूरा हुने भएकाले दर्शनार्थीहरूको अत्यधिक भीड लाग्ने गरेको छ ।
धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भए पनि अन्य दिन कम मात्रामा आउने गरेको मन्दिरका पुजारी स्वामी भरत दासले जानकारी दिएका छन । धनुषको टुक्रा अवलोकन र पूजा अर्चना गर्न दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक एवं श्रद्धालु भक्तजन आउने गर्दछन् ।