जनकपुर, माघ । प्रदेश २ प्रदेश सभाको आइतबार बसेको आठौँ अधिवेशनको छैठौँ बैठकमा प्रदेशको स्थायी नामकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ ।
समितिका सदस्य प्रदेश सभा सदस्य परमेश्वर साहले सभामा सो प्रतिवेदन पेस गरे । उनले प्रदेशको स्थायी नामकरण र राजधानीमा समितिले साझा नाममा टुङ्गो लगाउन नसकेको बताएका छन । प्रदेशको प्रस्तावित छवटा नाममध्ये समितिको विभिन्न बैठक, छलफल र संवादबाट चारवटा परिमार्जन गरेको जानकारी दिँदै उहाँले राजधानीका लागि तीनवटा प्रस्ताव रहेको सभामा पेस गरे ।
समितिले प्रदेशको नामकरणका लागि मधेस, जानकी, मध्य मधेस र मिथिला भोजपुरा र राजधानीका लागि जनकपुरधाम, वीरगञ्ज (पोखरीया नगरपालिका, सिम्रौनगढसम्म) र वीरगञ्ज नगरपालिकाभरि गरी तीनवटा प्रस्ताव रहेको उनले जानकारी दिएका छन ।
प्रदेशको नामकरण र राजधानीको विषयमा गोप्य मतदान गर्न समितिको निर्णय रहेको उहाँले बताएका छन । गत पुस १३ गते पाँचौँ बैठकले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।
प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेश सभामा दुई तिहाइ बहुमत आवश्यक पर्छ । दलहरूबीच प्रदेशको राजधानी जनकपुरधाम कायम गर्नुपर्नेमा करिब सहमत रहे पनि नामको विषयमा फरक प्रस्ताव पेस भएका छन् ।
यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को स्थायी राजधानी र नामकरणको विषयमा प्रदेश सभामा मतदान भएको थियो । त्यसबेला राजनीतिक दलहरूबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए ।
तत्कालीन बैठकमा पनि दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामकरणको प्रस्ताव पारित हुन असफल भएको थियो ।
प्रदेश सभामा कुल १०४ सदस्यमा जसपाको ३९, काँग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको आठ, एमालेको आठ र नेपाल सङ्घीय समाजवादी पार्टीको एक जना प्रदेश सांसद छन् ।