images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

इलाम  : 'अध्यागमन कार्यालयले काम पाएन '  

इलाम  : 'अध्यागमन कार्यालयले काम पाएन '  

बिहिवार, पौष २९ २०७८

  • 225
    SHARES

  • इलाम  : 'अध्यागमन कार्यालयले काम पाएन '  


    इलाम, पुस  । नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने इलामको पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय कामबिहीन भएको छ । बिदेशी नागरिकको गैरकानुनी गतिविधि तथा अध्यागमन तथ्याङ्क ब्यवस्थित गर्न र बिदेशी पर्यटकलाई सहजीकरणका लागि भन्दै स्थापना भएको अध्यागमन कार्यालय चार वर्षदेखि कामविहीन अवस्थामा रहेको हो । 
    उक्त कार्यालय चार वर्ष अघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका थिए ।  पशुपतिनगर नाकामा अध्यागमन कार्यालय भए पनि भारततर्फ अध्यागमन कार्यालय नहुँदा समस्या हुँदै आएको छ । भारततर्फ अध्यागमन कार्यालय नहुँदा नेपालमा भिसा अनुमति लिएर आउने पर्यटक उक्त नाकाबाट आउँदैनन् । 
    तेस्रो मुलुकका नागरिक भारत हुँदै नेपाल आउँदा पशुपतिनगर नाकाको सट्टा झापाको काकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् । अभिलेखीकरण, भिसा जारी, नविकरण जस्ता कुनै काम नभएपछि अध्यागमन कार्यालय पशुपतिनगरका कर्मचारी बसेरै दिन बिताउँदै आएका छन । 
    काम नै नभएपछि उक्त कार्यालयमा दरबन्दी भएका कर्मचारीलाई झापा काकडभिट्टमा रहेको अध्यागमन कार्यालयमा समेत लगेर काम लगाउने गरिएको छ । कार्यालयका नायव सुब्बा गम्भीर राईले काम नभएपछि बसेर दिन बिताउनुपर्ने बताएका छन ।  
    एकजना अधिकृतसहित छजनाको स्थायी दरबन्दी भए पनि एकजना सुब्बासहित तीनजना कर्मचारीको भरमा कार्यालय संचालन भैरहेको छ । अन्य दुई जना करारका कार्यालय सहयोगीसमेत कार्यालयमा छन् । 
    महिनामा एक पटक अध्यागमन कार्यालय काकडभिट्टाका अधिकृत रेवन्त भट्टराई आएर कार्यालयको काम मिलाउने गरेकाछन ।  अधिकृत भट्टराईले भारततर्फ अध्यागमन कार्यालय नहुँदा नेपालतर्फको कार्यालय पनि कामविहीन भएकाले भारततर्फ कार्यालय स्थापना पहल गर्नुपर्ने बताए ।  
    उनले यसअघि नै भारततर्फ कार्यालय स्थापना गर्ने योजना रहे पनि भारतले कोरोना महामारीको कारण देखाएर कार्यालय स्थापनामा ढिलाई गरेको जानकारी दिएका छन ।  अधिकृत भट्टराईका अनुसार कार्यालय स्थापना गर्नका लागि गृहमन्त्रालयस्तरबाटै भारत सरकारसँग पहल गर्नुपर्छ ।
    लामो समयदेखि पशुपतिनगरका ब्यवसायीले समेत भारततर्फ अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन् । भारततर्फ अध्यागमन कार्यालय स्थापना नहुँदा पशुपतिनगर नाका भएर नेपाल आउने पर्यटक झापा काकडभिट्ट जाने गरेका छन् । जसले गर्दा लामो समयदेखि पशुपतिनगर बजार सुनसान बन्दै आएको छ ।
    सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले राज्यले लगानी गरेर कार्यालय स्थापना गरे पनि काम विहीन बन्नु राज्यकै लागि घाटा मात्र भएको बताए । उनले सरकार नै लागिपरेर भारतमा अध्यागमन कार्यालय स्थापना गर्न पहल गर्नुपर्ने बताए । 
    स्थानीयले भारततर्फ कार्यालय स्थापनाको माग गर्दै नेपाल सरकार समक्ष पटक पटक ज्ञापनपत्र बुझाई सकेका छन् । स्थानीय ब्यवसायी तथा पूर्व सांसद लिलादेवी श्रेष्ठले सरकारले नै चासो दिए मात्र भारततर्फ कार्यालय स्थापना हुने बताएका छन ।  
    २०५६ सालमै पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरेर सीमा प्रशासन कार्यालयलाई कार्यालय सञ्चालनको अख्तियारी प्रदान गरिएको थियो ।  हाल कार्यालय समेत जीर्ण बनिसकेको छ । 
    भारततर्फ ‘इन्डियन कष्टम’ (भन्सार कार्यालय) समेत स्थापना हुनसकेको छैन । शुकियामा भएको कष्टम हटाएर पानी ट्याङ्की लगिएपछि पशुपतिनगर भएर हुने आयात निर्यातमा थप समस्या हुँदै आएको छ । 
    नेपालतर्फ पशुपतिनगरमा भन्सार काटेर सामान निर्यात गरिए पनि भारतमा प्रवेश नपाउँदा ब्यवसायीले समस्या झेल्दै आउनु परेको छ । पशुपतिनगरबाट निर्यात गर्न सकिने कृषिजन्य वस्तु समेत झापा काकडभिट्टटा भएर पठाउनु पर्ने बाध्यता ब्यवसायीले झेल्दै आएका छन् । 

     

    images

    बिहिवार, पौष २९ २०७८०९:१६:४७

    डेमो खबर

    सम्बन्धित समाचार