images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

प्रदेश १ सभा बैठक आज : 'मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने'

प्रदेश १ सभा बैठक आज : 'मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने'

शुक्रवार, कार्तिक ५ २०७८

  • 909
    SHARES

  • प्रदेश १ सभा बैठक आज : 'मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने'

    विराटनगर, कात्तिक । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश १ सभा बैठक आह्वान गरेका छन । बैठक आज , शुक्रबार, दिउँसो बस्दैछ। प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक दिउँसो १ बजे बस्ने भएको हो।

    आज मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव बैठकमा पेस हुने बताइएको छ। उक्त प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता भएको थियो। आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका हुन्। संवैधानिक रुपले दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

    यसबीचमा मुख्यमन्त्री आचार्यले प्रदेश पर्यटन बोर्ड, खेलकुद बोर्ड र सञ्चार प्रतिष्ठानमा नियुक्ति गरिसकेका छन्। मुख्यमन्त्रीले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस भएपछि छलफलको प्रक्रिया सुरु हुने छ। त्यसअघि सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठक पनि बस्दैछ। गत असोज २४ गतेको बैठकपछि सभामुखले भोलिपल्ट अर्थात असोज २५ गतेका लागि अर्को बैठक बोलाएका थिए।

    तर संसद सचिवालयमार्फत सूचना प्रकाशित गर्दै उनले कात्तिक ५ गते अर्थात आजसम्मलाई बैठक स्थगित गरिदिएका हुन्। विपक्षी गठबन्धनले भने सरकारले आजै विश्वासको मत लिनुपर्ने माग गरिरहेको छ। सरकारको विश्वास संसदमा परीक्षण हुनुपर्ने अडानमा प्रतिपक्षी दलहरु रहेका हुन्। एमाले केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल हुने जानकारी दिए।

    आजको संसद बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल हुन्छ, उनले भने, सांसदहरु दसैं मनाएर फर्किनसकेका कारण मतदानको मिति भने केही पर सर्नसक्छ। विपक्षी गठबन्धनले भने आजै मतदान हुनुपर्ने अडान राखेको छ। मतदानको प्रक्रिया आजै टुंग्याउनुपर्ने नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।

    मतदान भएर विश्वासको मतको छिनोफानो भएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुने उनको भनाइ छ। प्रदेश १ को ९२ सदस्यीय प्रदेशसभामा एमालेसँग अहिले ४१ जना मात्रै सांसद छन्। संसदमा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० सांसद छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउन नसकेमा प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने छ।

    शुक्रवार, कार्तिक ५ २०७८१०:१३:२२

    डेमो खबर

    सम्बन्धित समाचार