images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

अन्योल कायमै : विद्यालय खोल्ने तयारी गरिँदै 

अन्योल कायमै : विद्यालय खोल्ने तयारी गरिँदै 

आइतवार, आश्विन १० २०७८

  • 925
    SHARES

  • अन्योल कायमै : विद्यालय खोल्ने तयारी गरिँदै 


     
    काठमाडौँ, असोज । विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निर्णयसँगै काठमाडौँमै अध्ययन गर्ने उहाँका छोराछोरी गाउँ गएका हुन् ।
    ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै हुनुहुन्छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उहाँका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निर्णयले भने उहाँ अन्योलमा हुनुहुन्छ । 
    उनले भने, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैँ शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ ।”

    काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैँ अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताए । उनले भने, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?” 
    उनले कोरोनोको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गरे । 
    कोरोना भाइरस महामारीको त्रास कम नभएको र दशैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निर्णयले धेरै अभिभावक थप दोधारमा छन् । 
    महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिक रूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । 
    विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको थियो । 

    विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । 
    लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।
    स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले भने, “सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन ।” उनले कम्तीमा पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताउनुभयो । कोरोना सङ्मणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ ।
    राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले स्थानीय तहले आ–आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गरे । कोरोना त्रासकै बीच केही दिनअघि कैलालीका केही विद्यालय पुनःसञ्चालनमा आए पनि अहिले बन्द गर्न थालिएको उदाहरण दिँदै उनले अहिले सहरी क्षेत्रका विद्यालय धमाधम खोलेर विद्यार्थीमा थप सङ्क्रमण बढेमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने बताए । 

    आइतवार, आश्विन १० २०७८०९:३९:२५

    डेमो खबर

    सम्बन्धित समाचार