images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

लगानी सन्दर्भ : "परियोजनामा स्रोत जुट्दै"

लगानी सन्दर्भ : "परियोजनामा स्रोत जुट्दै"

शुक्रवार, आषाढ ११ २०७८

  • 2.7K
    SHARES

  • लगानी  सन्दर्भ :  "परियोजनामा स्रोत जुट्दै"

    गानी बोर्डको बैठकले माथिल्लो तमोर र तल्लो मनाङ–मस्र्याङ्दी जलविद्युत् परियोजनाका लागि करिब ९७ अर्ब रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षताको बोर्डको ४७ औँ बैठकले ती परियोजनाका लागि लगानी स्वीकृत गरेपछि आयोजना निर्माण एक कदम अगाडि बढेको छ । झण्डै २८५ मेगावाट क्षमताको तमोर र १३९.२ मेगावाटको तल्लो मनाङ–मस्र्याङ्दी परियोजनाको उत्पादनले नेपालको विद्युत् उत्पादन आन्तरिक उपभोगका दृष्टिले पर्याप्त मात्र होइन, निर्यातको सम्भावना बढाउनेछ ।

    जलविद्युत् विकासमा बाह्य लगानी निकै आकर्षित हुनुका कारणमा सस्तो उत्पादन लागत र भारत तथा बङ्गलादेशसम्मको विद्युत् बजारको सम्भावनाले हो । सन् २०२० को आरम्भदेखि कोभिड– १९ को महामारीले खुम्चिएको विश्व अर्थतन्त्रबीच पनि प्रतिबद्धताअनुसारको वैदेशिक लगानी भित्रिनुलाई सुखद परिणाम मान्न सकिनेछ । लगानी बोर्डले लगानीमा रहेका बाधा, अड्चन फुकाउने र लगानी प्रोत्साहनका लागि नीतिगत, कानुनी तथा आर्थिक क्षेत्रमा सुधार गरेकाले नेपालमा पछिल्ला वर्ष जलविद्युत्मा उल्लेख्य वैदेशिक लगानी भित्रिएको हो ।

    बैठकले सङ्खुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ । अरुण–३ परियोजना प्रवेशमार्गअन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डका जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया थाल्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

    यसैगरी, तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति दिने सम्बन्धमा देखिएका अस्पष्टता परिमार्जन गरी कानुनमा आवश्यक सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको मोडल अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकका यी निर्णयले मुलुकको जलविद्युत् विकासमा दीर्घकालीन उपलब्धि दिनसक्नेमा विश्वस्त हुन सकिनेछ ।

    लगानीसन्दर्भमाका  देखिएका समस्या तथा अन्योल हटाइ लगानीकर्तालाई विश्वस्त बनाउन बोर्डले निर्वाह गरेको भूमिकाले पनि नेपालमा ठूला परियोजनामा वैदेशिक लगानी आकर्षित भएको देखिन्छ । कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्रको गतिविधि शून्यप्रायः भएपछि त्यसको प्रभाव नेपालमा गरिने विदेशी लगानीमा परेको छ । परिणामस्वरूप सन् २०२० मा नेपालको वैदेशिक लगानी गत वर्षको तुलनामा ३२ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड रुपियाँमा सीमित भएको छ । सन् २०१९ मा भने नेपालले २१ अर्ब ६४ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो ।

    गत दुई वर्षको विशेष विश्व परिवेशका कारण तत्कालका लागि प्रत्यक्ष वैदेशिक लगानी घटे पनि सधैँका लागि घट्नेछ भन्नुपर्ने अवस्था छैन । हालका वर्ष नेपालमा सबैभन्दा बढी लगानी चिनियाँ लगानीकर्ताले गर्दै आएकामा चीनले कोरोना सङ्क्रमणपछि अख्तियार गरेका कतिपय आन्तरिक तथा बाह्य प्रावधानले पनि नेपालको वैदेशिक लगानीमा प्रत्यक्ष असर परेको देखिन्छ । कोरोनाकालपछि चीनको अर्थतन्त्रमा व्यापक सुधार आएकाले नेपालमा उनीहरूको लगानी क्षणिककालका लागि मात्र घटेको हुनसक्ने विश्लेषण गरिएको छ ।

    समग्रमा हेर्दा विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत १३२ वटा उद्योगका लागि चालू आर्थिक वर्ष २०७७/ ०७८ को आठ महिना (साउन–फागुनसम्म) मा २५ अर्ब ४१ करोड रूपियाँको विदेशी लगानी प्रतिबद्धता व्यक्त गरेका छन्, जुन गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा यो साढे चार अर्बले घटी भए पनि कोभिडको प्रभावपछि नेपालमा यस्तो लगानी बढ्न सक्ने देखिन्छ । तर नेपाललगायत दक्षिण एसियाका मुलुकद्वारा मात्र नभएर पछिल्ला दशक विश्वभर नै वैदेशिक लगानी भित्र्याउन विभिन्न आकर्षित स्किमहरूका साथ कानुनी, आर्थिक, राजनीतिक प्रतिबद्धता व्यक्त गरिएका छन् ।

    कोरोनाका विभिन्न लहर आउन सक्नेप्रति विश्वको ध्यान पर्ख र हेरको अवस्थामा रहेकाले वैदेशिक लगानी सहजै आउने छ भनेर ढुक्क हुनसक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि करिब एक खर्ब रूपियाँको वैदेशिक लगानी भित्रिन लाग्नु सकारात्मक पक्ष हो । वैदेशिक लगानीका लागि नेपालले आर्थिक कूटनीति, कानुनी तथा कार्यान्वयनमार्फत लगानीकर्तालाई विश्वस्त गर्न थप पहल गर्नु आवश्यक छ ।

    शुक्रवार, आषाढ ११ २०७८०३:२९:५१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार