२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

यस बर्षको वसन्त मौसम

हिमाल आरोहण सुरु : ' पहिलो दिन ९ जनाले गरे आरोहण '

आइतवार , बैशाख ६, २०८३

 

 

म्याग्दी, वैशाख ।

धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका- ४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ ।

इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालुु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् ।

चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ ।

शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुुर ग्याल्जेन शेर्पाले बताए ।

शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरुको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुुरुषले अनुमति लिएका छन् ।

अनुमति लिएकाबाट रु एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर -शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताए ।

गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए । रासस

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार