वासिङ्टन डीसी, चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता एकै पटकमा टुङ्गिने वा आगामी हप्ताहरूमा पनि जारी रहने भन्नेबारे आफू अहिले नै प्रस्ट नभएको बताएका छन् ।
दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ। भर्जिनियाको शार्लोट्सभिल प्रस्थान गर्नुअघि विमानमै पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको भविष्यको वार्ताका सम्बन्धमा यस्तो धारणा राखेका हुन् ।
वार्ता विफल भएमा के कुनै वैकल्पिक योजना (ब्याकअप प्लान) छ भन्ने प्रश्नमा ट्रम्पले संक्षिप्त जवाफ दिँदै भने,' ब्याकअप प्लानको कुनै आवश्यकता छैन। ' उपराष्ट्रपति जेडी भेन्स इस्लामावाद वार्ताका लागि प्रस्थान गर्नुअघि भएको कुराकानीबारे सोधिएको प्रश्नमा ट्रम्पले आफूले उनलाई केवल 'शुभकामना' दिएको जानकारी दिए ।
इरानसँगको राम्रो सम्झौता कस्तो हुनुपर्छ भन्ने जिज्ञासामा उनले भने, ' कुनै आणविक हतियार हुनु हुँदैन।' साथै, इरानमा सत्ता परिवर्तनको सङ्केतहरू पहिल्यै देखिइसकेको दाबी समेत उनले गरे।
सामुद्रिक मार्ग ' स्ट्रेट अफ होर्मुज' इरानको सहयोग रहे पनि वा नरहे पनि खुल्ने ट्रम्पको दाबी छ।
अमेरिकालाई उक्त मार्गको खासै आवश्यकता नरहेको उल्लेख गर्दै उनले भने, ' हामी यसलाई चाँडै खुलाउने छौँ' इरानले उक्त मार्गबाट यात्रा गर्ने जहाजहरूमा शुल्क लगाउन सक्ने रिपोर्टहरूप्रति टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले त्यस्तो हुन नदिने स्पष्ट पारे।