२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

पूर्वीनाका झापा : ' पाँच महिनामा सात अर्बको ईन्धन आयात '

बुधवार , पौष ९, २०८२

 

भद्रपुर (झापा), पुस । चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१- ८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार