स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ। इजरेयली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ जारी छ।
- ब्रिटेनस्थित इजरेली दूतावासले एकजना ब्रिटिश नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। उनी गाजाको सीमा नजिकै नृत्य महोत्सवमा सुरक्षाकर्मीका रूपमा काम गरिरहेका थिए र त्यसै बेला त्यहाँ आक्रमण भएको थियो।
- दक्षिणी इजरेल र गाजा क्षेत्रमा ४०० भन्दा बढी प्यालेस्टिनी लडाकुहरू मारिएका र दर्जनौँलाई नियन्त्रणमा लिइएको आईडीएफका प्रवक्ताले टाइम्स अफ इजरेललाई बताएका छन्।
- हालसम्म कम्तीमा ३०० इजरेलीहरू मारिएका छन् र दर्जनौँ अपहरणमा परेका छन्। टर्कीस्थित इजरेलको दूतावासले आफ्नो देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
- इजरेली हवाई हमलामा गाजा स्ट्रिपमा कम्तीमा ३१३ व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।
- इजरेली अधिकारीहरूले देश 'अझै युद्धमा रहेकोू'र अझै पनि इजरेली क्षेत्रलाई हमासको कब्जाबाट पूर्ण नियन्त्रण लिने प्रयास गरिरहेको बताएका छन्।
- इजरेलमा अध्ययन तथा सिकाइका लागि गएका १२ जना नेपाली विद्यार्थीहरू पनि सम्पर्क विहीन भएको नेपालका परराष्ट्रमन्त्रीले संसद्लाई जानकारी गराएका छन्।
- गाजा नजिकैको इजरेली भूमिस्थित एउटा कृषि फर्ममा कार्यरत १७ जना नेपालीमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको तर १२ जना सम्पर्कविहीन भएको जानकारी उनले दिएका हुन्।
- केही नेपालीहरू पनि उक्त द्वन्द्वमा परेर हताहत भएको हुनसक्ने नेपालको परराष्ट्र मन्त्रालयको भनाइ छ।